कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं, ३१ असार  –  जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र नजिक अवस्थित छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा बदली रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। रातिको समयमा पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पुनः भारी वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।

मौसम विभागले विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box