बाढीको क्षतिपछि रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प

म्याग्दी, ३१  असार – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। गत असार २८ गते आएको बाढीले आयोजनाको बाँध (इन्टेक)मा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीसँगै आएको पहिरोले बाँधसम्म पुग्ने पहुँचमार्ग पनि अवरुद्ध बनाएको छ।

बाँधमा भएको क्षतिका कारण मर्मत कार्य तत्काल सुरु गर्न कठिनाइ भएको र उत्पादन बन्द हुँदा आयोजना आर्थिक रूपमा समेत प्रभावित भएको उनले बताए। गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। आयोजना पुनः सञ्चालनका लागि क्षतिको मूल्याङ्कन तथा मर्मतको तयारी भइरहेको जनाइएको छ।

Facebook Comments Box