पातेटाकुरा खोलामा पुल सञ्चालनमा, तुलसीपुर–शान्तिनगरको आवागमन सहज

दाङ, ३१  असार – दाङको गहतेखोला–बाघमारे सडकखण्डअन्तर्गत पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ। शान्तिनगर गाउँपालिका–३ स्थित पुल मङ्गलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्यालय, दाङमार्फत निर्माण गरिएको उक्त पुलले तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ बीचको सडक सम्पर्कलाई सहज बनाएको छ।

स्थानीयका अनुसार पुल नहुँदा विशेषगरी वर्षायाममा खोलामा आउने बाढीका कारण आवतजावत प्रभावित हुने गरेको थियो। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पुल सञ्चालनमा आएपछि वर्षौंदेखिको समस्या समाधान भएको बताउँदै वर्षामा बाढीका कारण हुने जोखिमसमेत घट्ने विश्वास व्यक्त गरे। निर्माण कार्य तोकिएको समयमै सम्पन्न गरेकाले निर्माण कम्पनीलाई सम्मानसमेत गरिएको छ। मोरङस्थित प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले २०८१ असार १६ गते पुल निर्माणको ठेक्का पाएको थियो भने सम्झौताअनुसार यही असारभित्र निर्माण सम्पन्न गरेको हो।

तुलसीपुर उपमहानगरपालिका–१ का वडा अध्यक्ष सापकोटाका अनुसार समयमै काम सम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको हो। शान्तिनगर गाउँपालिका–३ का वडा अध्यक्ष मीनबहादुर केसीका अनुसार २० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको निर्माण लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ४ करोड १० लाख ४४ हजार रहेको छ।

Facebook Comments Box