बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, दर्शन र पूजाअर्चना स्थगित

पर्वत, ३० असार – लगातारको वर्षापछि कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। डुबानसँगै शिलामा हुने नियमित पूजाअर्चना र दर्शनसमेत स्थगित गरिएको छ।

शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार कालीगण्डकी नदीको बहाव बढेपछि शालिग्राम शिलासम्म पुग्ने बाटो, सत्तल तथा परिक्रमा स्थलसमेत पानीमा डुबेका छन्। शिला पूर्ण रूपमा डुबानमा परेपछि त्यहाँ कार्यरत पुजारी तथा पण्डित विस्थापित भएका छन् भने भक्तजन पनि दर्शन गर्नबाट वञ्चित भएका छन्।

स्थानीय तिलक पराजुलीका अनुसार कालीगण्डकी र सेतीखोलाको उच्च बहावले शिला वरपरको परिक्रमा स्थलमा समेत क्षति पुगेको छ। यद्यपि हालसम्म आसपासको बस्तीमा तत्काल कुनै जोखिम नरहेको उनले बताए। बाढीका कारण शालिग्राम क्षेत्रका सत्तल तथा अन्य संरचनासँगै शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएको छ। सुरक्षा जोखिमका कारण प्रशासनले शिलामा प्रवेश र दर्शनमा रोक लगाएको छ।

स्थानीयका अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढीका बेला नदीको बहाव बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सीमास्थित सेतीवेणी बजार बारम्बार डुबानको जोखिममा पर्ने गरेको छ। नदीमा पानीको सतह बढेसँगै बजार क्षेत्रका करिब दुई सय व्यापारी तथा स्थानीयवासी त्रासमा छन्।

दुई वर्षअघि साउन महिनामा आएको बाढी बजारसम्म पुग्दा एक घर पूर्ण रूपमा भत्किएको र आधा दर्जन घर विस्थापित भएका थिए। गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म जोखिम कायम रहने बताए। उनका अनुसार गुल्मीतर्फबाट नदीको बहाव मोडेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले शालिग्राम शिला रहेको क्षेत्रको दीर्घकालीन संरक्षणका लागि स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय आवश्यक रहेको बताए। जिल्ला प्रहरी कार्यालय पर्वतले निरन्तर वर्षासँगै सेतीवेणी क्षेत्रसहित नदी र खोलानालामा बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।

Facebook Comments Box