ड्रागन फ्रुट खेतीबाट इलामका किसानको सफलताको कथा, वार्षिक १२ लाखसम्म आम्दानी

इलाम, २९ असार  – परम्परागत खेती छाडेर व्यावसायिक ड्रागन फ्रुट खेतीतर्फ लागेका इलामका किसानले उल्लेखनीय सफलता हासिल गर्न थालेका छन्। कम लगानी, राम्रो उत्पादन र सहज बजारका कारण जिल्लामा पछिल्लो समय ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनाम यसको उत्कृष्ट उदाहरण बनेका छन्। सात वर्षअघि सामान्य परीक्षणका रूपमा सुरु गरेको ड्रागन फ्रुट खेती विस्तार गर्दै उहाँले अहिले दुई बिघा क्षेत्रफलमा व्यावसायिक उत्पादन गरिरहनुभएको छ। उहाँले सञ्चालन गरेको ‘भिलेज एग्रो फार्म’ अहिले इलामकै ठूलो ड्रागन फ्रुट उत्पादन गर्ने फार्ममध्ये एकका रूपमा परिचित छ।

इङनामले आफ्नै जमिनसँगै ३८ कट्ठा लिजमा लिएर दुई हजार ८०० वटा मलेसियन रातो प्रजातिका ड्रागन फ्रुटका बिरुवा लगाउनुभएको छ। यसबाट उहाँले वार्षिक करिब १२ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ। “सुरुमा तीन कट्ठामा परीक्षणका रूपमा खेती थालेको थिएँ। उत्पादन राम्रो भएपछि विस्तार गर्दै अहिले दुई बिघासम्म पुगेको छु। यस वर्ष उत्पादन अझ बढ्ने भएकाले आम्दानी पनि बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो।

उहाँका अनुसार उत्पादन भएको ड्रागन फ्रुट बिक्रीका लागि बजार खोज्नुपर्ने अवस्था छैन। व्यापारीहरू सिधै बगानमै पुगेर फल खरिद गर्ने गर्छन्। बिर्तामोड, दमक, उर्लाबारी र इलाम बजारमा बिक्री हुने ड्रागन फ्रुटको मूल्य साइजअनुसार प्रतिकिलो २०० देखि ५०० रुपैयाँसम्म पर्ने गरेको छ।

व्यावसायिक खेतीबाट इङनाम स्वयं स्वरोजगार बन्नुका साथै पाँच जनालाई नियमित रोजगारी दिन सफल हुनुभएको छ। विदेश जानुभन्दा गाउँमै बसेर आधुनिक कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले यो व्यवसाय रोजेको उहाँको भनाइ छ।”लगनशील भएर नयाँ प्रविधिसहित कृषि गर्ने हो भने गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

इङनाम मात्र होइन, चुलाचुली गाउँपालिका–२ की मायतीमाया लिम्बूले पनि ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ। उहाँले ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’मार्फत आठ कट्ठा जग्गामा ६५० वटा बिरुवा रोप्नुभएको छ। सबै बिरुवाले उत्पादन दिन थालेपछि खर्च कटाएर वार्षिक करिब एक लाख २५ हजार रुपैयाँ आम्दानी भइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार अन्य बालीको तुलनामा ड्रागन फ्रुट खेतीमा श्रम कम लाग्ने, उत्पादन राम्रो हुने र बजार पनि सहज भएकाले खेती विस्तार गर्ने योजना रहेको छ।

ड्रागन फ्रुट खेती विस्तारमा स्थानीय सरकार र कृषि निकायको सहयोग पनि महत्वपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा चुलाचुली गाउँपालिकाले इङनामको फार्मलाई चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने कृषि ज्ञान केन्द्र इलामले लिम्बूको फार्मलाई ५० प्रतिशत लागत साझेदारीमा दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई गाउँपालिकाको प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर सञ्चालन भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षमा पनि कृषि उत्पादन र व्यावसायिक खेती विस्तारका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँको भनाइ छ।

हाल इलामको चुलाचुलीसँगै माई नगरपालिका, रोङ, माईजोगमाई गाउँपालिका तथा इलाम नगरपालिकाका तल्लो क्षेत्रमा समेत ड्रागन फ्रुट खेती विस्तार भइरहेको छ। बढ्दो माग, राम्रो मूल्य र सरकारी प्रोत्साहनका कारण यो खेती जिल्लाका किसानका लागि आम्दानीको भरपर्दो विकल्प बन्दै गएको छ।

Facebook Comments Box