आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, असार २९ – नेपाली भाषा, साहित्य र संस्कृतिका अग्रणी स्रष्टा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई सरल नेपाली भाषामा भावानुवाद गर्दै ‘रामायण’ कृति प्रस्तुत गरेपछि भानुभक्त नेपाली साहित्यमा अमर बनेका हुन्। उहाँले नेपाली भाषामा लेख्नुभएको रामायण आज पनि घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ।

भौगोलिक रूपमा पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकसूत्रमा बाँध्ने कार्य भानुभक्तले गरेको मानिन्छ। उहाँको योगदानले नेपाली भाषा र राष्ट्रिय पहिचानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने प्रेरणा दिएपछि नेपाली भाषामा रामायण रचना गर्ने उत्साह जागेको जनविश्वास रहेको छ।

रामायणबाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा विभिन्न फुटकर रचनाहरू पनि उहाँका चर्चित कृति हुन्। नेपाली जातीय एकता, सांस्कृतिक चेतना र राष्ट्रिय संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँको योगदान ऐतिहासिक मानिन्छ। जन्मजयन्तीका अवसरमा आज देशभर आदिकविको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, रामायण वाचन तथा साहित्यिक गोष्ठी लगायतका कार्यक्रम आयोजना भइरहेका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित भानुभक्तको प्रतिमामा विशेष श्रद्धाञ्जली कार्यक्रम पनि तय गरिएको छ।

यस अवसरमा भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्सहित भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा सक्रिय विभिन्न सङ्घसंस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपालबाहेक भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश र स्थानमा पनि भानु जयन्ती उत्साहका साथ मनाइँदै आएको छ।

Facebook Comments Box