दुई दिन भारी वर्षाको चेतावनी, केही क्षेत्रमा अति भारी वर्षा हुन सक्ने

काठमाडौं, २८ असार – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा तराई नजिक अवस्थित छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आइतबार दिउँसो देशका अधिकांश क्षेत्रमा बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित ती प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले आइतबार र सोमबार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहितका तराई भूभागमा भारी वर्षाका कारण गेगरान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box