धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
धनुषा, २७ असार – धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान उपमेयर सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी दुर्घटनामा परेका हुन्।
उक्त गाडीमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार थिइन्। दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा रहेका पाँच जना तथा उपमेयर सवार गाडीमा रहेका तीन जना गरी आठ जना घाइते भएका प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

