शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन १२.६ प्रतिशतले बढ्यो
कञ्चनपुर, २६ असार – सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ। चालु आर्थिक वर्षको असारसम्म निकुञ्जमा चार हजार १९१ पर्यटक पुगेका छन्, जुन गत आर्थिक वर्षको तुलनामा ४६९ जनाले बढी हो। यससँगै पर्यटक आगमनमा करिब १२.६ प्रतिशत वृद्धि भएको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवमा भ्रमण गर्ने पर्यटकमध्ये एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष रहेका छन्।
आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। कुल पर्यटकमध्ये तीन हजार ६९९ जना नेपाली छन्, जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन्। कुल आगन्तुकमध्ये करिब ८८ प्रतिशत नेपाली पर्यटक रहेको तथ्यांकले शुक्लाफाँटालाई आन्तरिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरिरहेको देखाउँछ।
त्यसैगरी सार्क राष्ट्रबाट ३५८ जना र अन्य मुलुकबाट १५६ जना पर्यटक निकुञ्ज पुगेका छन्। विदेशी पर्यटकको संख्या अझै सीमित भए पनि गत वर्षको तुलनामा तेस्रो मुलुकका पर्यटक २२ जनाले बढेको निकुञ्जले जनाएको छ। महिनागत रूपमा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन्। मौसम अनुकूल हुने र वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैतदेखि जेठसम्म पर्यटकको चाप बढी हुने गरेको छ।
करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ। यहाँ पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, चितुवा, नीलगाई, जरायो, भालु, जङ्गली बँदेललगायतका वन्यजन्तु पाइन्छन्। साथै ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएकाले यो निकुञ्ज पन्छी अवलोकनका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ।
विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, वन्यजन्तु अवलोकन टावर, प्राकृतिक पदमार्ग, हात्ती सफारी, जिप सफारी र बर्ड वाचिङ यहाँका प्रमुख आकर्षण हुन्। निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, प्रचारप्रसार र पर्यटकमैत्री सेवा थप प्रभावकारी बनाउन सके आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।

