हालान्डको दुई गोलमा ब्राजिल पराजित, नर्वे विश्वकपको क्वार्टरफाइनलमा
काठमाडौं, २२ असार – एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।
नर्वेको जितमा दुवै गोल हालान्डले गरे। उनले खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि निर्धारित समयको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे। यता, ब्राजिलका लागि कप्तान नेइमारले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यससँगै पाँचपटकको विश्वकप विजेता ब्राजिलको यस संस्करणको यात्रा अन्तिम १६ मै टुंगिएको छ भने नर्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

