आजको मौसमः देशका केही स्थानमा मध्यम वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, २२ असार – देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानकै आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपात हुन सक्नेछ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

