सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत (पूर्ण पाठ)
काठमाडौं, २० असार – प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारका १०० दिने उपलब्धिबारे जानकारी दिनुभएको हो।
प्रवक्ता पोखरेलका अनुसार सरकारले सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको संख्या घटाइएको उल्लेख गर्दै उहाँले यसबाट राज्यकोषमा वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको बताउनुभयो।
उहाँका अनुसार विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत सरकारी खर्च कटौती गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने नीति अघि बढाइएको छ। यस्तै, राजनीतिक दल निकट ट्रेड युनियन तथा विद्यार्थी संगठनको खारेजीलगायत सुधारात्मक कदमले सुशासन र प्रशासनिक सुधारतर्फ सकारात्मक सन्देश दिएको सरकारको दाबी छ।

