नारायणघाट–बुटवल सडकमा नेपालकै पहिलो ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण

मध्यविन्दु (नवलपरासी), २१ असार – नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर, लङ्गुरलगायत रुखमा बसोबास गर्ने वन्यजन्तुको सुरक्षित आवागमनका लागि ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटस्थित पितौजी जंगलमा उक्त संरचना निर्माण गरिएको हो।

वन क्षेत्र हुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी तथा इन्जिनियर शिव खनालले बताउनुभयो।

उहाँका अनुसार नेपालमा सडक आयोजनाअन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज हो। सडक विस्तारका कारण वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले यो संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।इन्जिनियर खनालले यसको प्रयोग र प्रभावकारिताको अध्ययनपछि आवश्यक र उपयुक्त स्थानमा यस्तै प्रकृतिका क्यानोपी ब्रिज निर्माण गर्ने योजना रहेको पनि बताउनुभयो।

उहाँका अनुसार बाँदर, लङ्गुरलगायत रुखबाट रुखमा आवतजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने तथा सवारीसाधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले यो संरचना निर्माण गरिएको हो। यसले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षण गर्नुका साथै चालक र यात्रुको सुरक्षामा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माणाधीन ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तार आयोजना नेपालका प्रमुख पूर्वाधार आयोजनामध्ये एक हो। आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ। आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलानको काम सम्पन्न भइसकेको छ। आयोजना कार्यालयका अनुसार सन् २०२६ जुनसम्म समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।

सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन, सडक सुरक्षा पूर्वाधार तथा अन्य संरक्षणका उपाय पनि कार्यान्वयन भइरहेका छन्। इन्जिनियर खनालका अनुसार जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै निर्माण गरिएको क्यानोपी ब्रिजले नेपालका भावी सडक आयोजनामा वातावरणमैत्री पूर्वाधार विकासको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box