अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

काठमाडौँ, १९ असार – यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ। डिजेलको मूल्य घटेपछि विभागले नयाँ भाडादर बिहीबारदेखि लागू हुने गरी समायोजन गरेको हो। विभागका अनुसार यात्रुवाहक सवारीसाधन तथा पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडा दुई प्रतिशतले घटाइएको छ।

विभागको तथ्यांकअनुसार डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँबाट घटेर १९२.८३ रुपैयाँमा पुगेको छ। अर्थात् प्रतिलिटर ४३ रुपैयाँ वा करिब १८.२३ प्रतिशतले मूल्य घटेको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा त्यसभन्दा बढीले परिवर्तन हुँदा सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा समायोजन गर्नुपर्ने व्यवस्था छ। यद्यपि, यसपटक इन्धनको मूल्य उल्लेख्य रूपमा घटे पनि विभागले भाडा दुई प्रतिशत मात्र घटाएको छ।

विभागका अनुसार गत वैशाख १६ गते पाँच प्रतिशत भाडा वृद्धि गरिएको थियो। त्यसबेला वैज्ञानिक प्रणालीअनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने अवस्था रहे पनि तत्कालीन परिस्थितिलाई ध्यानमा राखेर पाँच प्रतिशत मात्र वृद्धि गरिएको थियो। सोही कारण अहिले इन्धनको मूल्य घट्दा पनि भाडा सीमित रूपमा समायोजन गरिएको विभागको भनाइ छ।

यद्यपि, यातायात व्यवसायीहरूले भने नयाँ भाडादरप्रति असन्तुष्टि जनाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव टेकनाथ गौतमले स्वचालित मूल्य प्रणालीअनुसार अहिले करिब एक प्रतिशत मात्र भाडा समायोजन हुनुपर्ने दाबी गर्दै सरकारले दुई प्रतिशत घटाउने निर्णय वैज्ञानिक मापदण्डविपरीत भएको बताएका छन्।

विभागका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र आधार मानिँदैन। सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट, श्रम लागत, बजार मूल्यलगायत १३ वटा सूचकलाई समेटेर वैज्ञानिक आधारमा भाडा समायोजन गरिन्छ। यस प्रणालीमा इन्धनको हिस्सा ३५ प्रतिशत र बाँकी ६५ प्रतिशत हिस्सा अन्य लागत तथा आर्थिक सूचकले ओगटेका छन्। वैज्ञानिक भाडादर समायोजन प्रणाली २०६५ सालदेखि लागू हुँदै आएको छ, जसलाई स्वचालित भाडा समायोजन प्रणालीका रूपमा पनि चिनिन्छ।

Facebook Comments Box