महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, साउनदेखि सेवा सुरु गर्ने लक्ष्य

काठमाडौँ, १९ असार – सरकारले महिलाको सुरक्षित सार्वजनिक यातायात पहुँच विस्तार गर्ने उद्देश्यले महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा साझा यातायातका आठ वटा विद्युतीय बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। सोही योजनाअनुसार पहिलो चरणमा कम्तीमा २५ वटा बस सञ्चालन गर्ने घोषणा गरिएकामा सुरुआत भने काठमाडौँ उपत्यकाबाट आठ वटा बसमार्फत गरिनेछ।

योजनाअनुसार बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा, नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथमा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ। हाल ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझा यातायातले सरकारसँगको सहमतिअनुसार आठ वटा बसलाई ‘ब्लु बस’का रूपमा रूपान्तरण गर्नेछ। बसको सञ्चालन तथा व्यवस्थापन पनि साझा यातायातले नै गर्नेछ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार आवश्यक बजेट स्वीकृतिका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ। बजेट स्वीकृतिपछि सरकारसँग सम्झौता गरेर बस सञ्चालन गरिनेछ। उनले एउटा विद्युतीय बस सञ्चालनमा दैनिक करिब १० हजार रुपैयाँ खर्च हुने र वार्षिक खर्च करिब ३६ लाख रुपैयाँ पुग्ने बताए। आठ वटा बस सञ्चालनका लागि वार्षिक न्यूनतम करिब तीन करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

अर्यालका अनुसार सम्झौतापछि बसको रङ परिवर्तन गरिनेछ। ‘ब्लु बस’ नामअनुसार बसलाई नीलो रङमा रूपान्तरण गरिनेछ। यद्यपि, महिलासँगै पुरुष यात्रुले पनि ती बसमा यात्रा गर्न पाउने वा नपाउने भन्ने विषयमा भने सरकारले अहिलेसम्म अन्तिम निर्णय गरिसकेको छैन।

Facebook Comments Box