राष्ट्रियसभामा आज बजेट र विनियोजन विधेयकमाथि छलफल हुँदै

काठमाडौं, १९ असार – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज बस्ने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफल प्रमुख कार्यसूचीमा रहेको छ। संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट प्राप्त आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सम्बन्धी सन्देश सभामा प्रस्तुत गर्नेछन्।

त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका बजेट शीर्षकमाथि समूहगत छलफल हुनेछ। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि राष्ट्रियसभामा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

Facebook Comments Box