विश्वकप फुटबलः डीआर कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा
काठमाडौं, १८ असार – फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत अन्तिम–३२ को खेलमा इङ्ग्ल्यान्डले डीआर कंगोलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले दुई गोल गर्दै टोलीको जितका नायक बने। खेलको सुरुआतमै डीआर कंगोले अग्रता बनाएको थियो। सातौँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा यही नतिजा कायम रह्यो। दोस्रो हाफमा इङ्ग्ल्यान्डले खेलमा पुनरागमन गर्यो। ७५औँ मिनेटमा कप्तान केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को जित दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गर्न सफल भयो। पराजयसँगै डीआर कंगोको विश्वकप यात्रा भने अन्तिम–३२ मै टुंगिएको छ।

