रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं, १८ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ। पार्टीका अनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गते सुरु भएको थियो। तीन दिनभित्र सम्पन्न गर्ने तयारी रहे पनि सहमतिको प्रयासका कारण महाधिवेशन छ दिनसम्म लम्बिएको थियो।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी विधानअनुसार बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ। यसैबीच, रास्वपाले सार्वजनिक गरेको ९९ सदस्यीय केन्द्रीय समितिको सूचीमा दुई जनाको नाम सच्याएको छ। दुई सदस्यको नाम हटाएर नयाँ दुई जनाको नाम समावेश गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।

Facebook Comments Box