रुकुमपूर्वमा जिप दुर्घटना, ६ महिनाका शिशुसहित पाँच जना घाइते

काठमाडौं, १८ असार – रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ६ महिनाका शिशुसहित पाँच जना घाइते भएका छन्। रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु१ज २४७० नम्बरको सफारी जिप सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्काले चलाइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् भने अन्य छ जना सकुशल रहेका छन्। घाइते हुनेमा सिस्ने गाउँपालिका–४ दादिङकी २७ वर्षीया रोसनी बुढामगर, उनका ६ महिनाका छोरा सर्लास बुढामगर, २१ वर्षीया रमिता घर्ती, २३ वर्षीया धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहेका छन्।

प्रहरीका अनुसार सर्लास बुढामगरको टाउकोमा चोट लागेको छ। धनकुमारी घर्तीको छाती, ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने रोसनी बुढामगरको हातमा चोट लागेको छ। रमिता घर्तीको टाउकोमा चोट लागेको छ भने चालक खड्काको छाती र ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धाउन्ने र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्वमा उपचारका लागि पुर्‍याएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box