पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा ३० रुपैयाँ
काठमाडौँ, १७ असार – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्तरराष्ट्रिय हवाई इन्धन (काठमाडौँका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले कम गरिएको निगमले जनाएको छ।संशोधित मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा उपलब्ध हुनेछ।
यसअघि यी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २२५ रुपैयाँ थियो। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १९४ रुपैयाँ तोकिएको छ।
आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तरराष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर एक हजार ५६६ अमेरिकी डलर, पोखराका लागि एक हजार १०० अमेरिकी डलर र भैरहवाका लागि एक हजार ८५ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ।
मूल्य समायोजनसँगै १४.२ किलोग्राम क्षमताको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य दुई हजार १६० रुपैयाँ थियो। अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

