ओली, प्रचण्डसहित शीर्ष नेताहरू एउटै मञ्चमा, मदन भण्डारी जयन्ती कार्यक्रम आज
काठमाडौं, असार १४ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू आज एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको “नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक राष्ट्रिय गोष्ठीमा उनीहरू सँगै देखिन लागेका हुन्।
कार्यक्रमको प्रमुख आतिथ्यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। कार्यक्रममा ओली र प्रचण्डसँगै माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। विभिन्न राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिनुका कारण यो कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ।
कार्यक्रममा जननेता मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था तथा भविष्यबारे छलफल हुने बताइएको छ। यसअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य हुन सक्ने संकेत गरेका कारण पनि आजको कार्यक्रमलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

