कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन विस्तार हुने
काठमाडौं, १४ असार – देशका अधिकांश भागमा मनसुन सक्रिय हुँदै गएको छ भने आगामी तीनदेखि चार दिनभित्र बाँकी प्रदेशहरूमा पनि मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ। बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र सामान्यतया सफा रहेको छ भने देशका अन्य भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा हुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि यस्तै प्रकारको मौसम रहने अनुमान गरिएको छ। त्यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा हुरीबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

