विश्वकप डेब्युमै इतिहास रच्दै केप भर्डे नकआउट चरणमा
काठमाडौँ, १३ असार – फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएको केप भर्डेले ऐतिहासिक उपलब्धि हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘एच’ मा अपराजित रहँदै केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो। तीन खेलबाट सात अंक जोडेको स्पेन समूह विजेता बनेको छ भने केप भर्डेले लगातार तीन बराबरी खेल्दै महत्वपूर्ण तीन अंक बटुलेर दोस्रो स्थान सुरक्षित गर्यो।
शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्यो। यसअघि उसले स्पेन र उरुग्वेसँग पनि अंक बाँडेको थियो। यही समूहको अर्को खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्यो। दुई पटकको विश्वविजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिन बाध्य भयो।
जारी विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको छ। अन्य डेब्यु टोलीहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समूह चरणमै बाहिरिएका छन्। अब राउन्ड अफ ३२ मा केप भर्डेको सामना साविक विश्वविजेता अर्जेन्टिनासँग हुनेछ। डेब्यु विश्वकपमै नकआउट यात्रा जारी राख्ने लक्ष्यसहित केप भर्डेले अर्जेन्टिनाविरुद्ध अर्को ऐतिहासिक चुनौती सामना गर्नेछ।

