रास्वपाको प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी
चितवन, ११ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहेको छ। गएरातिदेखि सुरु भएको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार हालसम्म करिब १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
पहिलो चरणमा ७९ जना केन्द्रीय सदस्य चयनका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएका छन्। खुलातर्फ २१० जना र भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ। भूगोलतर्फ प्रत्येक प्रदेशबाट पाँच जनाका दरले सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने खुलातर्फ ६४ जना चयन गरिनेछ। प्रदेशगत उम्मेदवारी संख्या अनुसार सुदूरपश्चिममा १८, मधेसमा २०, लुम्बिनीमा ३१, कोशीमा २०, कर्णालीमा ३१, बागमतीमा २७ र गण्डकीमा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी छ। पहिलो चरणको मतदान सम्पन्न भएपछि दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको नतिजा सार्वजनिक भएसँगै दोस्रो चरणको मतदान सुरु हुनेछ। दोस्रो चरणमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका पदाधिकारी चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको छ।

