लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको सम्भावना, केही क्षेत्रमा वर्षा हुने पूर्वानुमान

काठमाडौं, १०  असार – जल तथा मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने तथा बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ।

देशका अन्य भागमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। त्यसैगरी कोशी प्रदेशका केही तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ। कोशी प्रदेशका तराई क्षेत्रमा समेत बदली रहने अनुमान छ भने मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले चट्याङ, तातो लहर र तापक्रम वृद्धिको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि नियमित रूपमा महाशाखाको सूचना हेर्नसमेत अनुरोध गरिएको छ।

Facebook Comments Box