सामाजिक लोकतन्त्रको बाटोमा रास्वपा, प्रत्यक्ष निर्वाचित कार्यकारी शासनको वकालत

काठमाडौँ,  १० असार गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक लोकतन्त्रलाई मूल सिद्धान्तका रूपमा अङ्गीकार गर्ने घोषणा गरेको छ । सभापति रवि लामिछानेद्वारा प्रथम महाधिवेशनको बन्दसत्रमा मङ्गलबार प्रस्तुत ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ मा रास्वपा सामाजिक लोकतन्त्रको जगमा उभिने र प्रत्यक्ष निर्वाचित कार्यकारी शासनप्रणालीको वकालत गर्ने उद्घोष गर्नुभएको छ । बन्दसत्रबाट पारित प्रतिवेदन तथा प्रस्तावमा उहाँले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको वैचारिक र राजनीतिक दिशा स्पष्ट पार्नुभएको छ ।

सभापति लामिछानेले रास्वपालाई परम्परागत दलको विकल्प मात्र नभई नयाँ युगको नेतृत्व गर्ने शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “हामीले देखेको सपना र नागरिकको आशालाई सार्थक बनाउन हामी एकढिक्का भएर लाग्नु पर्छ । रास्वपा अब देशकै अग्रणी मूलधारको विशाल शक्तिका रूपमा स्थापित हुने छ ।”

सभापति लामिछाने पार्टीको चार वर्षको यात्रा, अघिल्ला सरकारमा रहँदाको अनुभव, वर्तमान राजनीतिक चुनौती र भावी कार्यदिशाका सन्दर्भमा विश्लेषणात्मक विवेचना प्रस्तुत गर्नुभएको छ । रास्वपाले यसअघि ‘संवैधानिक समाजवाद’ लाई बहसमा ल्याएको थियो । उहाँले त्यसको व्याख्या अस्पष्ट देखिएकाले अब पार्टीले लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र र सामाजिक न्यायलाई समायोजन गर्दै सामाजिक लोकतन्त्रलाई सैद्धान्तिक आधार बनाउने घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एकअर्काका पूरक मान्छौँ । रास्वपा अब सामाजिक लोकतन्त्रको विचारधारामार्फत अगाडि बढ्ने छ ।”

प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन 

सभापति लामिछानेले रास्वपा परम्परागत ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ नभई व्यावहारिक र विवेकपूर्ण मध्यमार्गी शक्ति भएको स्पष्ट पार्नुभएको छ । संविधान संशोधनका सन्दर्भमा लामिछानेले साहसिक प्रस्ताव अगाडि सार्नुभएको छ । उहाँले विद्यमान संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको र अब नेपालमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ प्रमुख हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँले रास्वपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रहेको र हालको खर्चिलो निर्वाचन प्रणाली सुधार गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । उहाँले यसो गर्दा सबै समुदायको समान प्रतिनिधित्व सुनिश्चित हुने र भ्रष्टाचारमा कमी आउने निष्कर्ष दिनुभएको छ । उहाँले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउनुपर्ने र प्रदेश सभाको संरचनामा पुनरवलोकन गर्नुपर्ने विषयलाई उठान गर्नुभएको छ ।

परराष्ट्र नीतिमा आयाम

सभापति लामिछानेले परराष्ट्र नीतिका सम्बन्धमा पनि स्पष्ट अवधारणा प्रस्तुत गर्नुभएको छ । उहाँले परम्परागत शक्तिकेन्द्रित कूटनीतिभन्दा विकास कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको कूटनीति केवल सीमा रक्षामा मात्र सीमित नभई आर्थिक रूपान्तरण, लगानी आकर्षण र व्यापार विस्तारको माध्यम बन्नुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “परराष्ट्र नीति केवल कूटनीतिक सम्बन्ध व्यवस्थापनको विषय होइन, यो आर्थिक रूपान्तरण र राष्ट्रिय हितको साधन हो । हामी विकास कूटनीतिलाई केन्द्रमा राख्छौँ ।” सभापति लामिछानेले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई पारस्परिक सम्मान र साझा हितका आधारमा सन्तुलित बनाउँदै नेपाललाई ‘जीवन्त पुल’ का रूपमा  विकास गर्ने सङ्कल्प गर्नुभएको छ । उ

हाँले विश्वभर रहेका नेपाली डायस्पोरालाई नेपालको विकासको साझेदार बनाउने र उहाँहरूको ज्ञान, सिप र पुँजी परिचालनलाई प्राथमिकता दिनुभएको छ ।

उदारवाद र बहुलवादी लोकतन्त्र

रास्वपाले उदारवादमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गरेको छ । सभापति लामिछानेले प्रतिवेदनमा रास्वपा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले तर यो उदारवाद केवल बजारमुखी मात्र नभई ‘लोककल्याणकारी राज्य’ को अवधारणासँग जोडिएको हुनुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ ।

उहाँले प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन र संस्थागत पद्धति, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य र समन्यायिक समावेशी समाजको परिकल्पना प्रस्तुत गर्नुभएको छ । उहाँले राज्यले व्यापार गर्ने नभई नियमन गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकतामा राज्यको सक्रिय भूमिका रहनुपर्ने प्रस्ट अडान व्यक्त गर्नुभएको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासन

सभापति लामिछानेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख एजेन्डा बनाइएको छ । उहाँले भ्रष्टाचार नियन्त्रण र विधिको शासन स्थापनाका लागि राज्यका निकायलाई राजनीतिक प्रभावमुक्त बनाउनुपर्ने बताउनुभएको छ । उहाँले नक्कली भुटानी शरणार्थी काण्डदेखि सहकारी अनियमितता र अन्य भ्रष्टाचारका घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन रास्वपाले खेलेको भूमिकाबारे पनि समीक्षा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “कानुनभन्दा माथि कोही छैन भन्ने मान्यतालाई स्थापित गर्न हामीले ऐतिहासिक प्रयास गरेका छौँ ।”

जेनजी विद्रोह र युवाको ऊर्जा 

सभापति लामिछानेले पछिल्लो समयमा देखिएको युवा जागरण र जेनजी पुस्ताको असन्तोषलाई सकारात्मक ऊर्जाका रूपमा चित्रण गर्नुभएको छ । उहाँले दशकौँदेखिको कुशासन, बेरोजगारी र असमानताका विरुद्ध युवापुस्तामा देखिएको आक्रोशलाई रास्वपाले राजनीतिक मार्ग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “आजको उपलब्धि युवाको चेतना र ऊर्जाको परिणाम हो, यसलाई हामी आगामी यात्राको मार्गदर्शक बनाउने छौँ ।”

साङ्गठनिक चुनौती र शुद्धीकरण

सभापति लामिछानेले पार्टीभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई केवल राजनीतिक अभियानमा मात्र सीमित नराखी संस्थागत ढाँचामा ढाल्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका कार्यकर्ता हाम्रो शक्ति हुन् ।”

सभापति लामिछानेले पार्टीका सदस्यलाई सिर्जनशील र आत्मनिर्भर बन्न आह्वान गर्नुभएको छ । उहाँले नेतृत्व विकासका लागि ‘लिडरसिप एकेडेमी’ स्थापना गर्ने र कार्यकर्तालाई नयाँ राजनीतिक संस्कार सिकाउने योजना पनि सार्वजनिक गर्नुभएको छ ।

उम्मेदवार बन्न कसैलाई नरोकिने

सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने जानकारी दिनुभएको छ । भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पनि उम्मेदवार बन्नबाट रोक नलगाइने स्पष्ट पार्नुभयो । “मन्त्री भइसकेका व्यक्ति पनि उम्मेदवार बन्नबाट रोक लगाइने भन्ने हल्ला निराधार हो,” उहाँले भन्नुभयो ।

पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिँदै उहाँले गुट उपगुटले पार्टी माथि जान नसक्ने बताउनुभयो । “फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नै पर्छ, हामीले पनि गुट उपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्ने हो । गुट उपगुट बनाउने होइन,” उहाँले भन्नुभयो । उहाँले ५२ लाख जनताले विवेक प्रयोग गरेर रास्वपालाई ठुलो दल बनाएकाले आफूहरूले विवेक गुमाउन नहुने धारणा पनि राख्नुभयो । “बुद्धिमत्तापूर्वक प्रतिनिधि चयन गरिएको हुनाले पनि यो महाधिवेशन प्रभावकारी बन्दै छ,” उहाँले भन्नुभयो ।

प्रतिनिधिले तिरेको पाँच हजार रुपियाँ ऐच्छिक बनाइएकाले त्यो रकम आवश्यक परे फिर्ता लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले यो महाधिवेशनलाई जितहारका रूपमा नलिन पनि सबैमा आग्रह गर्नुभयो । “जसले जिते पनि घण्टीबाहकले जित्ने हो । म कसैको पक्षमा छैन,” उहाँले भन्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले पार्टी ठुलो हुनु मात्र पर्याप्त नभई जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभएको छ ।

भरतपुरमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले लोकतन्त्र र संविधानका मूल्य मान्यताको संस्थागत विकास तथा सुशासनमार्फत प्रभावकारी सेवा प्रवाहलाई पार्टीका प्रमुख राष्ट्रिय कार्यभारका रूपमा अगाडि सार्नुपर्ने धारणा राख्नुभयो । “नागरिकले युवा नेतृत्व, नयाँ विकल्प र बहुमतमार्फत रास्वपामाथि विश्वास व्यक्त गरिसकेको छ । यसमा अब परिणाम देखाउने जिम्मेवारी पार्टी र सरकारको हो,” उहाँले भन्नुभयो ।  पार्टीभित्र विचारको विविधता स्वीकार्य भए पनि सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा उहाँको जोड छ ।

महाधिवेशनको बन्दसत्र मङ्गलबार राति नै सकिएको छ । कार्यक्रममा सभापति रवि लामिछानेको राजीतिक प्रतिवदेन, महामन्त्री कवीन्द्र बुर्लाकोटीको सङ्गठनात्मक प्रतिवेदन, महामन्त्री भूपदेव शाहको प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बन्दसत्रमा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा धेरै बोल्ने नभई स्पष्ट बोल्ने गरी आफ्ना योजना अघि सारिने बताउनुभयो ।

“धेरै बोल्ने होइन, स्पष्ट बोल्ने, धेरै वाचा गर्ने होइन, धेरै परिणाम दिने, धेरै सङ्गठन विस्तार गर्ने होइन, धेरै प्रणाली निर्माण गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा राजनीति होइन, राज्य पुनर्निर्माण गर्ने” प्रतिवेदनमा उल्लेख छ । उहाँले अहिले पार्टीले पाएको उपलब्धि मात्रै पार्टीको यात्रा नभई नेपालको भविष्यसँग जोडिएको ऐतिहासिक जिम्मेवारी हो,” उहाँले भन्नुभयो ।

Facebook Comments Box