रोनाल्डोको दुई गोलमा पोर्चुगलको शानदार जित, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौं, १० असार  – कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले फिफा विश्वकप–२०२६ अन्तर्गत उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको छ। समूह ‘के’ अन्तर्गत बुधबार सम्पन्न आफ्नो दोस्रो खेलमा पोर्चुगलले एकतर्फी प्रदर्शन गर्दै उज्वेकिस्तानमाथि फराकिलो जित निकालेको हो। पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे भने नुनो मेन्डेस, अब्दवोहिद नेमातोव (आत्मघाती गोल) र राफाएल लिओले एक–एक गोल थपे।

खेलको छैटौँ मिनेटमै कर्नरबाट आएको बललाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै टोलीको अग्रता २–० बनाए। पहिलो हाफ सकिनुअघि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पनि पोर्चुगलको दबाब कायम रह्यो। खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवबाट आत्मघाती गोल भएपछि पोर्चुगलले ४–० को अग्रता बनायो। खेलको ८७औँ मिनेटमा राफाएल लिओले अर्को गोल थप्दै पोर्चुगलको शानदार जित सुनिश्चित गरे।यस जितसँगै पोर्चुगलले दुई खेलबाट चार अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो।

यता, लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अंकविहीन रहँदै समूहको पुछारमा पुगेको छ र उसको नकआउट चरणको सम्भावना कमजोर बनेको छ। विश्वकपअन्तर्गत आजै इङ्ल्यान्ड र घाना, पानामा र क्रोएसिया तथा कोलम्बिया र कङ्गोबीचका खेलहरू पनि हुँदैछन्।

Facebook Comments Box