बाँदरबाट बाली जोगाउन दिक्तेल रुपाकोटको नयाँ योजना, रु ४५ लाख बजेट विनियोजन

खोटाङ,  १० असार – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४५ लाख बजेट विनियोजन गरेको छ। १५औँ नगरसभामा प्रस्तुत बजेटअनुसार किसानलाई बाँदरको आतंकबाट राहत दिलाउन प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकाले यसलाई कृषि उत्पादन संरक्षण तथा किसानको मनोबल वृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

नगर उपप्रमुख विशन राईले आगामी आर्थिक वर्षका लागि कुल रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो। बजेटमा बाँदर तथा अन्य वन्यजन्तुका कारण हुने बाली क्षति रोक्न विशेष कार्यक्रम समावेश गरिएको छ। नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदरको समस्या समाधानका लागि ‘बाली हेरालु’ कार्यक्रमसँगै अल्पकालीन र दीर्घकालीन योजना पनि अघि बढाइनेछ।

यसका लागि सङ्घीय सरकार तथा छिमेकी स्थानीय तहहरूसँग समन्वय गरिने जनाइएको छ। नगरपालिकाले आगामी वर्ष ‘किसानलाई के चाहिन्छ ?’ नामक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रमअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक सेवा प्रदान गर्ने, उन्नत बीउबिजन वितरण गर्ने तथा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाइएको छ।

यसैबीच, खोटाङका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रम जारी राखेका छन्। जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकाले यसअघि नै रु ८४ करोड ११ लाख ८२ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ।

त्यसैगरी, केपिलासगढी गाउँपालिकाले रु ४७ करोड ५१ लाख पाँच हजार १७० बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमध्ये रु १७ करोड १२ लाख ५१ हजार पुँजीगत खर्च तथा रु ३० करोड ३८ लाख ५४ हजार १७० चालु खर्चका लागि विनियोजन गरिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा बाँकी पाँच स्थानीय तहले पनि असार १० गते आफ्नो नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।

Facebook Comments Box