मानसिक तनावसँग जुध्दै सिकलसेलका बिरामी
टीकापुर, असार ८ – सिकलसेल थालासेमियाबाट पीडित बिरामीहरूले शारीरिक पीडासँगै मानसिक तनाव र सामाजिक विभेदसमेत भोग्नुपरेको अनुभव सुनाएका छन्। लामो समयसम्म रोग पहिचान हुन नसक्दा र निरन्तर उपचार गर्नुपर्ने अवस्थाले उनीहरूको जीवनमा गम्भीर चुनौती थपिएको छ।
कैलालीको टीकापुर–७ निवासी अनुपा चौधरी सानैदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो। परिवारले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराए पनि रोग पहिचान हुन सकेको थिएन। पछि नेपालगन्जस्थित भेरी अस्पतालमा परीक्षण गर्दा उहाँलाई सिकलसेल थालासेमिया भएको पुष्टि भयो र नियमित उपचार सुरु भयो।
अनुपाका अनुसार रोगका कारण पटक–पटक अस्पताल भर्ना हुनुपर्ने, नियमित रगत चढाउनुपर्ने तथा असह्य शारीरिक पीडा सहनुपर्दा आफू र परिवार दुवैले ठूलो मानसिक तनाव झेल्नुपरेको थियो। सिकलसेल क्राइसिसका बेला शरीरका विभिन्न भागमा असह्य दुखाइ हुने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको उहाँ बताउनुहुन्छ।
रोगका बाबजुद जीवनसाथीको साथ र सहयोगले आफूलाई ठूलो हौसला मिलेको अनुपाको भनाइ छ। अहिले उहाँ सिकलसेलका अन्य बिरामीलाई परामर्श र प्रेरणा दिने कार्यमा सक्रिय हुनुहुन्छ। टीकापुरका अर्का सिकलसेल बिरामी तथा अभियन्ता लालबहादुर चौधरीले रोग पहिचान भएपछि समाजबाट अपहेलना र विभेद भोग्नुपरेको बताउनुभयो। सिकलसेलबारे पर्याप्त जानकारी नहुँदा साथीभाइसमेत टाढिएको र त्यसले आफूलाई गम्भीर मानसिक तनावमा पुर्याएको उहाँको अनुभव छ।
“सिकलसेलका बिरामीलाई अपराधीझैँ व्यवहार गरिन्थ्यो। रोगका कारण बारम्बार अस्पताल भर्ना हुनुपर्दा जीवनप्रति नै निराशा पैदा भएको थियो,” उहाँले भन्नुभयो। सामाजिक विभेद र मानसिक तनावका कारण आत्महत्याको प्रयाससमेत गर्नुभएका लालबहादुर अहिले भने सिकलसेल बिरामीहरूको हकहितका लागि सक्रिय अभियानमा जुट्नुभएको छ।
उहाँको पहलमा टीकापुर सिकलसेल समिति गठन गरिएको छ, जसले बिरामीलाई मनोसामाजिक परामर्श, उपचारसम्बन्धी जानकारी र आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। टीकापुर अस्पतालका एमडी फिजिसियन डा. सरोज खनालका अनुसार सिकलसेल वंशाणुगत रोग हो। रोगबारे सही जानकारी, समयमै परीक्षण तथा नियमित उपचारले बिरामीको जीवन सहज बनाउन सकिन्छ।
उहाँले परिवार र समाजको सहयोग बिरामीका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। टीकापुर नगरपालिकाका अनुसार हाल नगर क्षेत्रमा ३०० भन्दा बढी सिकलसेल प्रभावित व्यक्ति फेला परेका छन्। तीमध्ये करिब ८० जना सिकलसेल थालासेमियाका गम्भीर बिरामी रहेका छन् भने बाँकी वाहक (क्यारियर) हुन्। बिरामीको सहज उपचार र नियमित निगरानीका लागि टीकापुर नगरपालिकाले यस वर्षदेखि सिकलसेल सहरी स्वास्थ्य प्रवर्द्धन तथा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।
साथै स्वास्थ्य बीमा, परामर्श सेवा र जनचेतनामूलक कार्यक्रममार्फत बिरामीलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार थारू समुदायमा बढी देखिने यस रोगबारे जनचेतना फैलाउने, समयमै परीक्षण गराउने र बिरामीलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने कार्यक्रम आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।

