रास्वपाको प्रथम महाधिवेशनः आज बन्दसत्र, प्रतिवेदनमाथि छलफलदेखि उम्मेदवारी दर्तासम्मका कार्यक्रम
चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुँदैछ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि दुई वटा ठूला हल तयारी अवस्थामा राखिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खानपानको व्यवस्था गरिएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुआत अनुशासन आयोगका संयोजक रमाकान्त रिमालद्वारा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुतिबाट हुनेछ। प्रतिवेदनमाथि छलफलपछि बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने कार्यक्रम तय गरिएको छ।
यसैगरी बिहान १०ः०० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ। बिहान १०ः४५ बजे सहमहामन्त्रीले पार्टी विधानमाथि छलफल गराई अनुमोदनको प्रक्रिया अघि बढाउने कार्यसूची छ। बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफल तथा अनुमोदनपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ। त्यससँगै आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
दिउँसोको भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी तथा निर्वाचन तालिका सार्वजनिक गर्नेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि सहभागीहरूका लागि खानपानको सम्पूर्ण व्यवस्था कार्यक्रमस्थलमै गरिएको छ। बन्दसत्रमा चार हजार २११ प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवक सहभागी रहने जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ः०० बजेदेखि उम्मेदवारी मनोनयन फाराम वितरण गरिनेछ। उम्मेदवारी दर्ता प्रक्रिया दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म सञ्चालन हुनेछ भने साँझ ६ः०० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
साँझ ६ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ। त्यसपछि राति ७ः०० देखि ९ः०० बजेसम्म दाबी–विरोधमाथि छानबिन गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि राति ९ः१५ बजेसम्मको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली राति ११ः०० बजे प्रकाशन गरिनेछ। महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया असार ९ गते बिहान ८ः३० बजेदेखि सुरु हुनेछ।
पहिलो चरणमा सभापतिसहित ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ, जुन दिउँसो ३ः०० बजेसम्म सञ्चालन गरिनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ। त्यसपछि आवश्यकताअनुसार दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनस्थित गेष्टहाउस चौरमा भव्य रूपमा सम्पन्न भएको थियो।

