उन्डाभको दुई गोलमा जर्मनी नकआउट चरणमा

काठमाडौँ, ७ असार – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। क्यानडाको टोरन्टोमा आइतबार बिहान सम्पन्न खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका डेनिस उन्डाभ जर्मनीको जितका नायक बने। उनले दुई गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए।

लगातार दोस्रो जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूह ‘ई’को शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ। सन् २०१४ मा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो। खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क कसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा जर्मनीले दुई पटक बल जाली चुमाए पनि दुवै गोलले मान्यता पाएनन्।

दोस्रो हाफको ६०औँ मिनेटमा जमाल मुसियालाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औँ मिनेटमा नादिएम अमिरीको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाए। जारी विश्वकपमा उन्डाभको यो तेस्रो गोल हो। उनले पहिलो खेलमा कुरासाओविरुद्धको ७–१ को जितमा पनि एक गोल गरेका थिए।

खेलभरि जर्मनीले बलमाथि स्पष्ट नियन्त्रण कायम राख्यो। ५९ प्रतिशत बल पोसेसन राखेको जर्मनीले १६ प्रहार गर्दा सात वटा सट लक्ष्यमा रहेका थिए। आइभरी कोस्टले भने लक्ष्यमा केवल दुई प्रहार मात्र गर्न सकेको थियो। पराजयका बाबजुद आइभरी कोस्ट तीन अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ। समूह चरणको अन्तिम खेलमा जर्मनीले इक्वेडरको सामना गर्नेछ भने आइभरी कोस्टले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box