फिफा विश्वकप २०२६ : हाइटीमाथि ब्राजिलको सहज जित, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो

काठमाडौँ, ६ असार – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ। फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले सुरुदेखि नै दबाबपूर्ण प्रदर्शन गर्दै हाइटीमाथि सहज जित निकालेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई गोल गरे भने एक गोल भिनिसियस जुनियरले थपे। खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि ३६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३–० को बलियो अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसके पनि खेलभरि ब्राजिलले बलमाथि नियन्त्रण कायम राख्यो। हाइटीले सिर्जना गरेका केही अवसरलाई गोलमा परिणत गर्न सकेन। यता ब्राजिलका थप दुई गोल भने अफसाइडका कारण मान्यता पाउन सकेनन्। यस जितसँगै ब्राजिल दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। समान चार अंक रहेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ।

दुई खेलबाट तीन अंक बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा रहँदा अंकविहीन हाइटी पुछारमा छ। समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले हाइटीको सामना गर्नेछ।

Facebook Comments Box