आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं, ५ असार – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्र तथा कोशी प्रदेशको तराईमा पनि बादल लाग्ने सम्भावना छ। अन्य तराई क्षेत्रमा भने मौसम अधिकांश समय सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने सम्भावना छ भने बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ।
यी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। अन्य अधिकांश क्षेत्रमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ। मौसमविद्ले वर्षा, चट्याङ, हिमपात तथा तातो लहरको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

