काभ्रेमा ११ महिनामा आठ हजारभन्दा बढी नयाँ नागरिकता जारी, २७ हजारले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिए
काभ्रेपलाञ्चोक, ५ असार – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आठ हजार ६० नयाँ नागरिकता जारी गरेको जनाएको छ। सोही अवधिमा २७ हजार ३२५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। कार्यालयले सार्वजनिक गरेको कार्यप्रगति विवरणअनुसार यस अवधिमा २० जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।
नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि बनाउनेको सङ्ख्या भने उल्लेख्य रूपमा बढी देखिएको छ। तथ्याङ्कअनुसार जेठ मसान्तसम्म १० हजार ६९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यस अवधिमा ३६ वटा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको छ भने ४७ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। त्यस्तै आठ वटा नागरिकता रद्द गरिएको तथा आठ जनालाई अङ्गीकृत नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचयपत्रतर्फ जेठ मसान्तसम्म छ हजार ६१६ कार्ड वितरण गरिएका छन्। साथै ५०१ वटा दलित तथा जनजाति परिचयपत्र जारी गरिएको छ। राहदानी सेवाअन्तर्गत १२ हजार ३७ आवेदन दर्ता भएकामा ११ हजार ५८२ राहदानी वितरण गरिएको छ। यस अवधिमा ५५७ नाबालक परिचयपत्रसमेत जारी भएका छन्।
कार्यालयमा दर्ता भएका १०२ मुद्दामध्ये ६७ वटा फर्छ्योट गरिएको छ भने २११ वटा ठाडो उजुरीमध्ये २०१ वटा टुङ्ग्याइएको छ। चालु आर्थिक वर्षमा १९ वटा नयाँ सङ्घसंस्था दर्ता भएका छन् भने १९४ वटा संस्था नवीकरण भएका छन्। पाँच वटा हातहतियारको नवीकरण गरिएको विवरणमा उल्लेख छ।
सहिद परिवार, द्वन्द्वपीडित परिवार तथा वैदेशिक रोजगारीबाट प्रभावित परिवारलाई कार्यालयले एक करोड २१ लाख ३५ हजार ९८१ रुपैयाँ राहत तथा सहायता वितरण गरेको छ। यस्तै विपद् प्रभावितका लागि २२ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ। राजस्व सङ्कलनतर्फ कार्यालयले हालसम्म छ करोड ५० लाख ६८ हजार ५२९ रुपैयाँ सङ्कलन गरेको जनाएको छ।
सोही अवधिमा चालु खर्च दुई करोड ६३ लाख १५ हजार ४६६ रुपैयाँ, पुँजीगत खर्च १० लाख ७४ हजार ११६ रुपैयाँ तथा विविध खर्च पाँच करोड २९ लाख ७० हजार २४९ रुपैयाँ भएको छ। कार्यप्रगतिको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहलाई अझ छिटो, सहज र प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो। उहाँले शान्ति–सुरक्षा र नागरिक सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्नुभयो।

