नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ

बाँके, ५ असार – यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न तथा नवीकरण गर्न आवश्यक पर्ने स्वास्थ्य परीक्षण प्रक्रिया पूरा नगरी रु २०० लिएर निरोगिताको प्रमाणपत्र वितरण गरिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले प्राप्त सूचनाका आधारमा निगरानी तथा अवलोकन गर्दा स्वास्थ्य परीक्षणबिनै प्रमाणपत्र जारी गरिएको तथ्य फेला परेपछि चिकित्सक र बिचौलियासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले प्रचलित नियमविपरीत कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Facebook Comments Box