हात्ती नियन्त्रणका लागि ‘विशेष कार्यदल’ परिचालन गरिँदै

झापा, ४ असार – जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न जिल्लामा ‘विशेष कार्यदल’ परिचालन गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा ‘विशेष कार्यदल’ गठनको प्रक्रिया अघि बढाइएको झापा निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो।

“प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई प्रक्रिया अघि बढाउन बुधबार नै निर्देशन दिइसकेको छ,” उहाँले भन्नुभयो, “अब प्रमुख जिल्ला अधिकारीले विशेष कार्यदल परिचालनका लागि आवश्यक समन्वय गर्नुहुनेछ।” गत साता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै आएका छन्।

उक्त घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मा जङ्गली हात्ती नियन्त्रण तथा नागरिकको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्नुभएको थियो। विशेष कार्यदलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई समावेश गरिने तथा त्यसको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत गरिने कार्ययोजना रहेको सांसद डाँगीले बताउनुभयो।

कार्यदललाई हात्ती प्रवेश गर्ने मुख्य क्षेत्र मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ। उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा पार गरी भारतको आसाम र पश्चिम बङ्गालबाट ३० देखि १०० वटासम्मका जङ्गली हात्तीका बथान नेपाल प्रवेश गर्ने गरेका छन्।वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि प्रत्यक्ष रूपमा सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारअन्तर्गत रहने गर्छन्।

विशेष कार्यदलमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन। सांसद डाँगीका अनुसार ५० जना सुरक्षाकर्मी माग गरिएको छ। उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले प्रारम्भिक चरणमा कम्तीमा १० जनाको सङ्ख्यामा भए पनि विशेष कार्यदल परिचालन गर्न सकिने सुझाव आएको छ।”

मेचीनगरमा विशेष कार्यदल परिचालन गरिने समाचारले स्थानीयवासी उत्साहित भएका छन्। मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले नागरिकको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले हात्ती नियन्त्रणका लागि विशेष तालिम प्राप्त सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारीले भारतबाट हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने र स्थानीयवासीलाई सुरक्षित महसुस गराउने स्पष्ट कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ।

Facebook Comments Box