विश्वकप फुटबलः पोर्चुगल र कंगोको खेल बराबरीमा
काठमाडौं, ४ असार – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टन रंगशालामा आज सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको हो। खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफभर पोर्चुगलले बलमाथि राम्रो नियन्त्रण कायम राख्दै दबाब सिर्जना गरेको थियो।
तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै खेल १–१ को बराबरीमा पुर्याए। दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै समाप्त भयो।
यस नतिजासँगै पोर्चुगल र कंगोले समूह ‘एल’ मा एक–एक अंक जोडेका छन्। विश्वकपअन्तर्गत आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै बिहान ४ः४५ बजे घाना र पानामा तथा बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच खेल हुने तालिका छ।

