ह्यारी केनको दुई गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
काठमाडौं, ३ असार – कप्तान ह्यारी केनको दुई गोल तथा जुड बेलिङहम र मार्कस रासफोर्डको एक–एक गोलको मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप–२०२६ को पहिलो खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको छ। अमेरिकाको डालास रंगशालामा सम्पन्न समूह ‘एल’ को खेलमा इंग्ल्यान्डले प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा थप दुई गोल गर्दै इंग्ल्यान्डले जित आफ्नो पक्षमा पार्यो। इंग्ल्यान्डका कप्तान ह्यारी केनले १२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। प्रारम्भिक प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि उनी निर्धारित समयअघि नै गोलरेखाबाट अगाडि बढेको ठहर भएपछि पुनः पेनाल्टी दिइएको थियो। दोस्रो अवसरमा केनले कुनै गल्ती नगरी गोल गरे।
क्रोएसियाका कप्तान लुका मोड्रिचले नोनी माडुकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औँ मिनेटमा उत्कृष्ट प्रहारमार्फत बराबरी गोल फर्काए। पिटर सुचिचको पासमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक गोल गरेका थिए।
केनले ४२औँ मिनेटमा डेक्लान राइसको कर्नरलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे र इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए। तर पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा पिटर मुसाले गोल गर्दै क्रोएसियालाई पुनः खेलमा फर्काए। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जुड बेलिङहमले एलियट एन्डरसनको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाए।
खेलको ८५औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे। यो जितसँगै इंग्ल्यान्डले समूह ‘एल’ मा तीन अंक जोड्दै सुखद सुरुआत गरेको छ।

