पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
चितवन, ४ असार – पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति करिब ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सडकमा खसेको पहिरो हटाएपछि अहिले उक्त खण्डमा दुवैतर्फबाट सवारीसाधन सञ्चालनमा आएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा भने निरन्तर पहिरो र ढुङ्गा खस्ने जोखिम कायम रहेकाले यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षायाम सुरु भएसँगै यस सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेकाले यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रको निगरानी र पहिरो पन्छाउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

