काठमाडौंका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद, १३ जना पक्राउ

काठमाडौँ, १ असार – लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै १३ जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार फार्महाउस सञ्चालनको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौंको टोखा र चन्द्रागिरी क्षेत्रमा छापा मारिएको थियो।

अनुसन्धानका क्रममा भारतबाट लागुऔषध ल्याई फार्महाउस परिसरभित्र खाडल खनेर लुकाई राख्ने तथा मागअनुसार बजारमा बिक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट, रुपन्देही, भक्तपुर, सिन्धुली, कालिकोट, बाजुरा, बारा, पर्सा र काठमाडौंका विभिन्न स्थानका १३ जना रहेका छन्। उनीहरूलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागुऔषध ट्रामाडोल दुई लाख नौ हजार क्याप्सुल, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन गरी दुई हजार चार सय एम्पुल बरामद गरेको छ। साथै सात लाख ८७ हजार पाँच सय रुपैयाँ नगद र विभिन्न कम्पनीका २८ वटा मोबाइल फोन पनि फेला परेको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box