अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी आइपुग्यो
लुम्बिनी, १ असार – विश्व शान्ति, करुणा र मैत्रीको सन्देश फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘वाक फर पिस’ अभियानअन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको शान्ति पदयात्रा टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीसँगै विश्वभर चर्चित बनेको ‘अलोका’ नामक कुकुर पनि रहेको छ।
१८ जना भिक्षु तथा उपासक–उपासिकाहरू सम्मिलित उक्त टोलीले लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट मायादेवी मन्दिरसम्म पदयात्रा गर्दै प्रार्थना र पूजाआजा गरेको थियो। टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरेका थिए।
पदयात्राका क्रममा भिक्षुहरूले सर्वसाधारणलाई बुद्धका शान्ति, करुणा, दया, सद्भाव र सदाचारसम्बन्धी शिक्षाबारे जानकारी गराउँदै ध्यान अभ्याससमेत गराएका थिए। स्वागत कार्यक्रममा भिक्षु पन्याकरले भगवान् बुद्धले देखाएको मार्ग अनुसरण गरेर मात्र जीवनको वास्तविक शान्ति, मुक्ति र निर्वाण प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले विश्व शान्ति व्यक्तिबाटै सुरु हुने भएकाले सबैले सकारात्मक सोच र बलियो सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँले टोलीसँगै यात्रा गरिरहेको अलोका कुकुरबारे पनि चर्चा गर्दै यो शान्तिको प्रतीकका रूपमा स्थापित भएको बताउनुभयो। सन् २०२२ मा भारत भ्रमणका क्रममा उक्त कुकुरले आफूलाई पछ्याउन थालेको र पछि अमेरिकामा लगेर त्यसको नाम ‘अलोका’ राखिएको जानकारी उहाँले दिनुभयो।
कार्यक्रममा नगरप्रमुख हरिजनले लुम्बिनीबाट प्रवाहित शान्ति, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देशलाई यस पदयात्राले थप बल पुर्याएको बताउनुभयो। वरिष्ठ निर्देशक राईले अलोकासहितको टोलीको आगमनले लुम्बिनीको शान्ति पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। टोली सोमबार काठमाडौं पुगेर बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती विहार र आनन्दकुटी विहारको अवलोकन गर्ने तथा साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले विश्व शान्तिको सन्देश बोकेर यात्रा गरिरहेका व्यक्तिहरूलाई शान्तिको उद्गमस्थल लुम्बिनी ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले अमेरिकामा सम्पन्न पदयात्राले शान्ति, करुणा र मैत्रीभावप्रति मानिसहरूको उल्लेखनीय आकर्षण देखाएको समेत उल्लेख गर्नुभयो।

