विश्वकपमा स्कटल्यान्डको सुखद पुनरागमन, हाइटीलाई १–० ले हरायो

काठमाडौं,  ३१ जेठ – २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डले सुखद सुरुआत गरेको छ। अमेरिकाको बोस्टनस्थित रंगशालामा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्‍यो। स्कटल्यान्डको जितमा जोन म्याकगिनले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन नसक्दा सोही गोल नै स्कटल्यान्डको जितका लागि पर्याप्त बन्यो।

खेलमा हाइटीले पनि बल नियन्त्रणमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने सफल भएन। जितसँगै स्कटल्यान्डले समूह ‘सी’ मा तीन अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। सोही समूहमा मोरक्को र ब्राजिलले १–१ गोलको बराबरी खेलेका कारण दुवै टोलीको समान एक–एक अंक छ। हाइटी भने अंकविहीन रहेको छ। स्कटल्यान्डले यसअघि सन् १९९८ मा विश्वकप खेलेको थियो। त्यसपछि लगातार विश्वकपमा छनोट हुन नसकेको टोलीले २८ वर्षपछि पुनः विश्वकपमा स्थान बनाएको हो।

यस्तै, विश्वकपमा स्कटल्यान्डको यो ३६ वर्षपछि पहिलो जित पनि हो। यसअघि उसले सन् १९९० मा स्वीडेनलाई २–१ ले पराजित गरेको थियो। आज हुने अर्को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल क्यानडाको भ्यानकुभर रंगशालामा बिहान पौने १० बजे सुरु हुनेछ।त्यसैगरी, जर्मनी र कुराकाओबीचको खेल राति पौने ११ बजे सुरु हुनेछ। यसअघि आजै भएका खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले समान १–१ गोलको बराबरी खेलेका थिए।

Facebook Comments Box