काभ्रे बस दुर्घटना : मृतक आठ जना मध्ये ६ जनाको सनाखत, दुई जनाको सनाखत हुन बाँकी
काभ्रे, ३० जेठ – काभ्रेको रोशी गाउँपालिका–४ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये हालसम्म छ जनाको मात्र सनाखत भएको छ। एक पुरुष र एक महिलाको पहिचान अझै खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
मृतकको सनाखत हुनेमा त्रिनेत्र दल गण भकुन्डेबेँसीमा कार्यरत नेपाली सेनाका अमल्दार दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी, रोशी गाउँपालिका–६ का मेघबहादुर तामाङ (४५), फुलमाया तामाङ (३४), इन्द्रबहादुर तामाङ (७५), रोशी–८ की प्यारीमाया तामाङ (६०) तथा सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ की सुमि तामाङ (२२) रहेका छन्।
सुमि तामाङको सनाखत उनका पति निराजन घिसिङले गरेका हुन्। प्रहरीका अनुसार अन्दाजी ६० वर्ष उमेरका एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बनेपाबाट काभ्रेकै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। शुक्रबार जारी विज्ञप्तिमार्फत दुर्घटनाको वास्तविक कारण पहिचान गरी आवश्यक प्रतिवेदन पेश गर्न तथा घाइतेहरूको प्रभावकारी उपचार र प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिइएको जनाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

