आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, २३ असार – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०” र “भन्सार विधेयक, २०८०” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ।
त्यस्तै, “विनियोजन विधेयक, २०८२”, “आर्थिक विधेयक, २०८२” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८२” समेत राष्ट्रिय सभाको सन्देशसहित टेबुल गरिनेछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२” प्रस्तुत गर्नेछन्।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले “राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२” प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पनि पेस गरिनेछ।

