गड्यौला मल उत्पादनतर्फ किसानको आकर्षण बढ्दै, शुक्लाफाँटामा सीप हस्तान्तरण तालिम

कञ्चनपुर, २७ जेठ – रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएपछि किसानहरू गड्यौला मलतर्फ आकर्षित हुन थालेका छन्। माटोको गुणस्तर संरक्षण, उत्पादन वृद्धि तथा अतिरिक्त आम्दानीको सम्भावनाले गड्यौला मलको प्रयोग र उत्पादनप्रति चासो बढेको हो। यही उद्देश्यका साथ शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण अभियान सञ्चालन गरेको छ।

गैरसरकारी संस्था निड्स नेपालको सहकार्यमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गरिएको छ। तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, यसको महत्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका उपायबारे जानकारी गराइएको थियो। तालिमका प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमालले रासायनिक मलको अत्यधिक प्रयोगले खेतीयोग्य जमिनको गुणस्तरमा नकारात्मक असर पारिरहेको बताउनुभयो।

उहाँका अनुसार माटोमा रहेका उपयोगी जीवाणु नष्ट हुने, उत्पादन लागत बढ्ने र माटोको उर्वराशक्ति घट्ने समस्याले किसानलाई वैकल्पिक उपाय खोज्न बाध्य बनाएको छ। “गड्यौला मल माटो र बिरुवाका लागि अत्यन्त उपयोगी हुन्छ। यसलाई बिरुवाको तयारी खाना पनि भनिन्छ,” हमालले भन्नुभयो, “बिरुवाको जरामा प्रयोग गरेको चारदेखि पाँच दिनभित्र यसको प्रभाव देखिन थाल्छ।”

उहाँका अनुसार गड्यौला मलमा नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, क्याल्सियम, बोरोनलगायत बिरुवाको वृद्धि र उत्पादनका लागि आवश्यक विभिन्न पोषकतत्त्व पाइन्छन्। यसले माटोको संरचना सुधार्नुका साथै पानी धारण क्षमता र जैविक सक्रियता बढाउन सहयोग पुर्‍याउँछ। पछिल्लो समय तरकारी, फलफूल, कौसीखेती तथा नर्सरी व्यवसायमा संलग्न किसानहरूले गड्यौला मलको प्रयोग बढाउँदै लगेका छन्। हमालका अनुसार माग बढेसँगै उत्पादनले बजारको आवश्यकता पूरा गर्न कठिन हुन थालेको छ।

वि.सं. २०७१ देखि नेपालगञ्जमा गड्यौला मल उत्पादन गर्दै आउनुभएका हमालले वार्षिक ६४ टन मल उत्पादन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० जिल्लामा आपूर्ति गर्दै आउनुभएको छ। यस व्यवसायबाट उहाँले वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो।

उहाँका अनुसार गोबर, जैविक फोहोर र गड्यौलाको बीउ प्रयोग गरी कम लगानीमै गड्यौला मल उत्पादन गर्न सकिन्छ। हाल बजारमा गड्यौला मल प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म र गड्यौलाको बीउ प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। शुक्लाफाँटा नगरपालिकाले गड्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ।

उद्यम शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार शुक्लाफाँटा–९ स्थित सामुदायिक गौशालामा २८ वटा गड्यौला मल उत्पादन पिट निर्माण गरिएका छन्। “गौशालाबाट निस्कने गोबरलाई उपयोग गरेर व्यावसायिक रूपमा गड्यौला मल उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” चौधरीले भन्नुभयो, “तालिममा सहभागी किसानलाई सीपसँगै आवश्यक औजारसमेत अनुदानमा उपलब्ध गराइँदैछ।”

तालिममा सहभागी किसान ललितबहादुर साउदले गड्यौला मल उत्पादनबारे व्यावहारिक ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँले अब घरमै गड्यौला मल उत्पादन गरी आफ्नै खेतमा प्रयोग गर्ने र अतिरिक्त उत्पादन बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो। निड्स नेपालले सञ्चालन गरिरहेको ‘दिगो आम्दानीद्वारा महिला उद्यमी सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका किसान तथा महिलालाई पनि यस्तै तालिम प्रदान गर्दै आएको छ।

परियोजना संयोजक हेमन्त शाहीका अनुसार प्रत्यक्ष अभ्यासमार्फत सिकाइ प्रभावकारी हुने भएकाले किसानलाई उत्पादन भइरहेका फार्ममा लगेर गड्यौला मल उत्पादनको सम्पूर्ण प्रक्रिया अवलोकन गराउने गरिएको छ। उहाँले गड्यौला मलको प्रयोगले रासायनिक मलमा निर्भरता घटाउनुका साथै माटोको स्वास्थ्य सुधार, उत्पादनको गुणस्तर वृद्धि र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। पछिल्ला वर्षमा अर्गानिक उत्पादनको माग बढ्दै जाँदा गड्यौला मल उत्पादन किसानका लागि राम्रो आम्दानी दिने उद्यमका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ।

Facebook Comments Box