रास्वपाले आजदेखि प्रदेश अधिवेशन सुरु गर्दै, बागमतीबाट उद्घाटन
काठमाडौं, २६ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका र जिल्ला तहका अधिवेशन सम्पन्न गरेपछि आजदेखि प्रदेश अधिवेशन सुरु गर्दैछ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन उद्घाटन गरिने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार बागमती प्रदेश अधिवेशनको उद्घाटन हेटौंडास्थित हिमालयन दरबारमा हुनेछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने ले गर्ने कार्यक्रम तय भएको छ। बागमतीपछि अन्य प्रदेशका अधिवेशनहरू क्रमशः सञ्चालन गरिनेछन्।
बागमती प्रदेशको नेतृत्वका लागि प्रतिस्पर्धा हुने संकेत देखिएको छ। हालका प्रदेश सभापति डा. अच्युत्तम लामिछाने पुनः सोही पदमा निर्वाचित हुन चाहन्छन्। उनले केन्द्रीय राजनीतिभन्दा प्रदेशकै जिम्मेवारीलाई निरन्तरता दिन चाहेको बताएका छन्। सभापति पदका अर्का आकांक्षी उत्सव अर्याल रहेका छन्। पार्टीभित्र दुवै पक्षले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको बताइएको छ।
उपसभापति पदमा डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी देखिएका छन्। महामन्त्री पदमा भने हालका महामन्त्री सुरेन्द्र भट्ट पुनः उम्मेदवार बन्ने तयारीमा छन्। रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहित विभिन्न पदाधिकारी रहने व्यवस्था छ। दुई सहमहामन्त्रीमध्ये फरक–फरक लिङ्गको प्रतिनिधित्व अनिवार्य गरिएको छ।
निर्वाचन आवश्यक परे दुई चरणमा मतदान हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयन गरिने व्यवस्था रहेको छ। रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन असार ६ र ७ गते चितवन मा आयोजना गर्ने तयारी गरिरहेको छ। प्रदेश अधिवेशनहरूलाई सोही महाधिवेशनको पूर्वतयारीका रूपमा हेरिएको छ।

