नेपाल–भारत विदेशमन्त्रीस्तरीय वार्ता : व्यापार, ऊर्जा र डिजिटल सहकार्यमा जोड
काठमाडौं, २३ जेठ — परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। नेपाली राजदूतावास ले जारी गरेको विज्ञप्तिअनुसार वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। विशेषगरी व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत विचार–विमर्श भएको जनाइएको छ।
दुवै विदेशमन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्तामा खेलकुदमार्फत जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयसमेत उठाइएको थियो। भेटका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको थियो।
साथै, ती परियोजनाको कार्यान्वयनलाई थप प्रभावकारी र तीव्र बनाउने उपायबारे पनि छलफल भएको जनाइएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषय र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषय पनि वार्ताको एजेन्डामा समेटिएको थियो।
तीन महत्वपूर्ण संयुक्त घोषणा
१. सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालन
नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरिएको छ। यो व्यवस्था सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र National Payments Corporation of India नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारीअनुसार कार्यान्वयनमा आएको हो। यसले दुई देशबीचको डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ।
२. भूकम्पपछिका ८४ पुनर्निर्माण परियोजना हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्माण भएका ७२ स्वास्थ्य क्षेत्र र १२ सांस्कृतिक क्षेत्रका गरी कुल ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। यी परियोजना भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिएका हुन्। यससँगै स्वास्थ्य सेवा र सांस्कृतिक सम्पदाको पुनःस्थापनामा भारतीय सहयोगको एक महत्वपूर्ण चरण पूरा भएको छ।
३. एआई र भाषा रूपान्तरण प्रविधिमा सहकार्य
काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको डिजिटल इन्डिया भाषिणी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गरिएको छ। यो सहकार्य ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म विकास तथा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणका लागि केन्द्रित रहनेछ।
यसबाट नेपालीसहित विभिन्न भाषामा एआई (कृत्रिम बुद्धिमत्ता) मा आधारित अनुवाद प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत भ्रमणमा गएका हुन्। भ्रमणका कार्यक्रम सम्पन्न गरी उनी आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ।

