आज विश्व वातावरण दिवस : जलवायु र प्रकृतिमैत्री विकासमा जोड
काठमाडौं, जेठ २२ — ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। दिवसका अवसरमा वातावरण विभाग ले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। विभागका अनुसार कार्यक्रममा विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस विशेष रूपमा मनाउन लागिएको बताए। विश्व वातावरण दिवसको अवसरमा देशभर वृक्षारोपण, सरसफाइ, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघले स्विडेनको स्टकहोममा पहिलो विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो। वातावरण संरक्षणका लागि विश्व समुदाय एकै ठाउँमा उभिएको यो पहिलो ऐतिहासिक सम्मेलन मानिन्छ। उक्त सम्मेलनको स्मरण र महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो। त्यसपछि सन् १९७३ जुन ५ मा पहिलोपटक आधिकारिक रूपमा विश्व वातावरण दिवस मनाउन थालिएको हो।
नेपालमा भने यो दिवस सन् १९८० र १९९० को दशकदेखि औपचारिक तथा संस्थागत रूपमा व्यापक रूपमा मनाउन थालिएको पाइन्छ। प्रारम्भिक चरणमा सरकारी निकाय र सीमित गैरसरकारी संस्थाहरूले कार्यक्रम आयोजना गरे पनि अहिले विद्यालय, स्थानीय तह, युवा क्लब तथा समुदायस्तरमा समेत विविध कार्यक्रम गरी दिवस मनाउने चलन स्थापित भएको छ।
विश्व वातावरण दिवस मनाउनुको मुख्य उद्देश्य मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउनु तथा वातावरण संरक्षणप्रति विश्वव्यापी चेतना अभिवृद्धि गर्नु हो। वन विनाश, प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग, प्राकृतिक स्रोतहरूको अव्यवस्थित दोहनजस्ता मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम वृद्धि, जलवायु परिवर्तन तथा जैविक विविधतामा संकट बढ्दै गएको छ। यस्ता चुनौती सामना गर्न नीति निर्माता, समुदाय र नागरिकलाई जिम्मेवार बनाउने तथा दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्व वातावरण दिवस मनाइन्छ।

