काभ्रेपलाञ्चोकका ४७९ बस्ती मनसुनजन्य विपद्को उच्च जोखिममा
काभ्रेपलाञ्चोक, १९ जेठ – मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोक जिल्लाका ४७९ बस्ती उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा जोखिमयुक्त बस्तीहरूको विवरण प्रस्तुत गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार जिल्लाका ४७९ बस्ती उच्च जोखिममा रहेका छन्।
त्यस्तै, २०९ बस्ती खुला स्थानमा रहेका, १९२ बस्ती सुरक्षित स्थानमा रहेका तथा ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको व्यवस्था गरिएको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताउनुभयो। उहाँले जोखिमयुक्त क्षेत्रलाई निरन्तर निगरानीमा राखेर विपद् आएमा सुरक्षाकर्मीमार्फत तत्काल उद्धार तथा प्रतिकार्य गरिने जानकारी दिनुभयो।
जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त मात्रामा उपलब्ध नभएको पनि उहाँले उल्लेख गर्नुभयो। समितिले स्थानीय तहलाई युवालक्षित विपद् प्रतिकार्य तालिम सञ्चालन गर्न तथा राहत र उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको छ। स्थानीय तह, जनप्रतिनिधि तथा सुरक्षाकर्मीबाट प्राप्त तथ्यांकका आधारमा यस वर्ष मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रको प्रक्षेपण गरिएको समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोलालगायत नदी तटीय क्षेत्र आसपासका बस्तीहरू बाढीपहिरोबाट बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसप्रति स्थानीयवासीलाई सतर्क रहन निरन्तर आग्रह गरिएको उहाँले बताउनुभयो। जिल्लाका सबै १३ स्थानीय तह बाढीपहिरोको जोखिममा रहेका छन्। तथ्यांकअनुसार सबैभन्दा बढी बेथानचोक गाउँपालिकाका करिब १०० बस्ती उच्च जोखिममा छन् भने सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकाका पाँच बस्ती जोखिममा रहेका छन्।
यस्तै, धुलिखेल नगरपालिकामा २५, बनेपा र नमोबुद्ध नगरपालिकामा ५०/५०, पाँचखाल नगरपालिकामा ८३, पनौती नगरपालिकामा १५, मण्डनदेउपुर नगरपालिकामा १५, तेमाल गाउँपालिकामा ३५, रोशी गाउँपालिकामा १२, भुम्लु गाउँपालिकामा ४०, खानीखोला गाउँपालिकामा ३० तथा महाभारत गाउँपालिकामा १९ बस्ती उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता सूचीमा छन्।
उक्त विपद्मा ७५ जना घाइते भएका थिए। सबैभन्दा बढी मानवीय क्षति पनौती नगरपालिकामा भएको थियो, जहाँ १७ जनाले ज्यान गुमाएका थिए। यद्यपि पाँचखाल, खानीखोला र महाभारत गाउँपालिकामा भने मानवीय क्षति हुन पाएन। बाढीपहिरोमा परी मृत्यु हुनेमध्ये ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिका रहेका थिए। मृतकमध्ये २१ जना विद्यार्थी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

