देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, १८ जेठ – नेपालमा हाल विभिन्न वायुप्रणालीको मिश्रित प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यूनचापीय रेखाको संयुक्त प्रभावका कारण मौसम प्रभावित भएको हो।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने देशका बाँकी तराई क्षेत्रमा आंशिक बदली छाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

